सिहदरबारका खाजाघरमा जी एन्ड बी क्याफे ग्रुपको बदमासी घुन र किरा परेको अखाद्य बस्तुकाे बिक्री

6

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिन (खाजाघर) मा चरम लापरबाही र अखाद्य वस्तुको खुला रुपमा बिक्री वितरण हुदै आएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले आकस्मिक रुपमा सिहदरबारभित्रका खाजाघरमा निरीक्षण गर्ने क्रममा अधिकांश क्यान्टिनमा घुन र किरा परेको अखाद्य बस्तुबाट बनेका परिकार बनाएर खुवाउदै आएको भेटिएको बताइएको छ ।

सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ ले गुणस्तरहिन खाद्य बस्तुको खरिद गरेर खाद्य सामाग्री बनाई खुवाउदै आएको समेत बताइएको छ । अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ । टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो ।

६ हजार ५ सय ६० रुपैयाँ बराबरका ती गुणस्तरहीन सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरिदिएको छ । अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरि छोडिदिएको छ । यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा पनि अनुगमन गरिएको थियो ।

उक्त खानेपानी उद्योगले खरिद बिल नराखेको र उपभोक्ता संरक्षण ऐन बमोजिमका प्रक्रिया पूरा नगरेकाले १० हजार रुपैयाँ जरिबाना गरि छोडिदिएको विभागले जनाएको छ । बजार अनुगमन क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका अन्य १० फर्म पनि निरीक्षण गरिएको बताएपनि अन्यलाई भने सामान्य निर्देशन दिई छोडिएको छ । विभागले अनुगमनमा गएपछि सामान्य निर्देशन दिदै छोड्न पाउने अधिकार नभएको उपभोक्ताबादीहरुको भनाई रहेको छ । सो निर्देशन अनुसार के गर्ने नगर्ने भन्ने अधिकार नदिएको समेत बताइएको छ ।

समाचार वर्गहरू