राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसमा ३० हजारमा थेसिस किनबेच

32

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा शिक्षकले स्नातकोत्तर तहका विद्यार्थीबाट थेसिसको पैसा असुल्ने गरेको पाइएको छ ।

त्रिविको छानबिन प्रतिवेदनमा क्याम्पसका शिक्षकले प्रतिविद्यार्थी २५ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेको भेटिएको हो ।

विद्यार्थीबाटै गुनासो आएपछि त्रिविले गोप्य अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा शिक्षकले विद्यार्थीबाट थेसिसवापत पैसा असुल गर्ने गरेको भेटिएको हो ।

‘थेसिस विद्यार्थी आफैंले लेखेर ल्याएको अवस्थामा अनावश्यक दुःख दिने र भाइवासमेत नगराउने गरेको पाइएको छ । भर्ना गर्दा नै विद्यार्थीबाट थेसिसको पैसा लिने गरिएको रहेछ,’ त्रिविका एक उच्च अधिकारीले भने ।

त्रिवि अधिकारीका अनुसार सो कार्यमा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक रामअशिष यादवसहितको टोलीको संलग्नता देखिएको छ । उनी सहायक क्याम्पस प्रमुखका साथै शिक्षा, समाजशास्त्र र व्यवस्थापन संकायको कार्यक्रम संयोजकसमेत हुन् ।

‘एउटै शिक्षक धेरै वटा विषयको संयोजक हुने र थेसिसको पैसा उठाउने गरेको रहेछ,’ त्रिविका ती अधिकारीले भने ।

थेसिस लेखनको मापदण्डविपरीत सोध निर्देशकका रूपमा सम्बन्धित विषयका कुनै पनि शिक्षकलाई जिम्मेवारी नदिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘विशेषगरी स्नातकोत्तर तहका थेसिसहरू एकैचोटी विभागीय प्रमुखसमक्ष बुझाउने र अन्तिम भाइवा डिफेन्स गराउने गरेको पाइयो,’ त्रिविको प्रतिवेदनमा भनिएको छ, ‘सोधपत्रवापत २५-३० हजार बुझाएमा तत्काल स्वीकृत हुने र अन्तिम भाइवा डिफेन्स गराइदिने गरेको सूचना विद्यार्थीहरूबाट प्राप्त भयो ।’

२०७४ सालपछि एमए समाजशास्त्र विषयका सम्पूर्ण थेसिसहरूमा एकै जनालाई बाह्य परीक्षकको रूपमा माइन्युटमा उल्लेख गरेको पाइएको छ । थेसिसको अन्तिम भाइवा गर्दा माइन्युट कागजी रूपमा मात्र मिलाउने गरेको तर कयौं माइन्युटमा सुपरभाइजरको हस्ताक्षरसमेत नभएको भेटिएको छ ।

‘थेसिस लेखनदेखि परीक्षक तोक्नेसम्मको कार्यमा सम्बन्धित डिन कार्यालयको परीक्षा हेर्ने कर्मचारीसमेत संलग्नता देखिएको छ,’ पीडित विद्यार्थीले दिएको बयानमा भनिएको छ । एउटै व्यक्तिलाई बारम्बार सहायक क्याम्पस प्रमुख र विभिन्न विषयहरूको विभागीय प्रमुखको समेत जिम्मेवारी दिँदा उक्त व्यक्तिले जिम्मेवारीको दुरुपयोग भएको ठहर छानबिन समितिको छ ।

समितिको प्रतिवेदनका आधारमा त्रिविले सहायक क्याम्पस प्रमुख रामअशिष यादवलाई स्पष्टीकरण सोधेको छ । आफूलाई त्रिविले स्पष्टीकरण सोधेको उनले स्वीकार गरे ।

‘थेसिस र प्राक्टिकल अभ्यासमा आर्थिक चलखेल भएको भनेर स्पष्टीकरण सोधिएको थियो । प्रक्रिया पूरा गरेर नै काम गरेको छ । कुनै अनियमितता गरेको मेरो नलेजमा छैन,’ उनले भने, ‘कता चिया पसलतिर उठेको कुरा होला । क्याम्पसमा कुनै गतिविधि भएको छैन ।’

कुनै विद्यार्थीको मुख हेरर थेसिस नगराइएको उनको दाबी छ । उनले त्रिविले सोधेको स्पष्टीकरणको समेत जवाफ दिइसकेका छन् । ‘स्पष्टीकरणको जवाफ दिइसकेको छु,’ उनले भने ।

उनी दुई कार्यकाल सहायक क्याम्पस प्रमुख भएका हुन् । २०६४ मा आंशिक शिक्षकबाट प्रवेश गरेका यादव २०६५ मा करार र २०७४ असारबाट स्थायी भएका हुन् ।

लामो समय एउटै क्याम्पसमा रहेकाले अन्यत्र सिफारिस गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

‘पदीय जिम्मेवारीवाट मात्र वञ्चित गराउँदा क्याम्पस प्रशासनलाई असहयोग हुने परिस्थिति सिर्जना हुन सक्ने देखिएकोले अन्यत्र क्याम्पसमा सरुवा गर्नु उपयुक्त देखिन्छ,’ छानबिन समितिले सिफारिस गरेको छ ।

जिम्मेवारीबाट तुरुन्त वञ्चित गराउन पनि भनिएको छ । साथै, परीक्षा नियन्त्रण कार्यालय वा सम्बधित डिन कार्यालयबाट प्रयोगात्मक परीक्षा तथा थेसिसका वाह्य परीक्षकहरू पठाउँदा बारम्बार एकै जनालाई दोहोर्‍याउन नहुने र प्रत्येक परीक्षामा फरकफरक व्यक्तिलाई बाह्य परीक्षक बनाई पठाउनु पर्ने देखिएको छ ।

यादव मात्र होइन, एमए अर्थशास्त्रका विभागीय प्रमुख सन्तोष साहले पनि थेसिस भाइवाको लागि प्रतिविद्यार्थी ५ हजार उठाउने र केही कर्मचारी र शिक्षकहरूले दामासाहीले बाँडेर लिने गरेको पाइएको छ ।

विद्यार्थीहरूबाट लिएको रकम क्याम्पसको आम्दानी शीर्षकमा नदेखाउने तर स्वयं विभागीय प्रमुखले लिने गरेको पाइएको छ ।

उनलाई जिम्मेवारीबाट वञ्चित गराई विभागीय प्रमुख बनेदेखि हालसम्मका थेसिस भाइवावापत उठाइएको रकम क्याम्पसको आम्दानीमा देखाउनु पर्ने ठहर छानबिन समितिको छ ।

थेसिसका साथै केही शिक्षकले क्याम्पसमा कक्षा नै नलिने गरेको पाइएको छ । ३ वर्षे एलएलबी कार्यक्रमका शिक्षक भानुभक्त निरौला कक्षा नलिने र बिहान हाजिर गरी ल फर्ममा जाने गरेका छन् ।

‘एलएलबी कार्यक्रमको जिम्मेवारी दिई जवाफदेही बनाउनुपर्ने र बिनाअनुमति आफ्नो ल फर्ममा काम गरेकोमा सचेत गराउनुपर्ने देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी, परीक्षा प्रमुख चन्द्रेश्वर यादवले आम्दानी शीर्षकमा देखाउनु पर्ने रकम अनियमितता गरेको र लामो समयदेखि परीक्षा शाखामा बसेर मुटकोर्टवापत उठाएको क्याम्पसले खर्च गर्न पाउने रकम कागजमा नदेखाई बाँड्ने गरेको प्रतिवेदनमा उल्लेख छ । क्याम्पसमा बनाइएको टहरबाट पैसा उठाएर कर्मचारीले खाने गरेको पाइएको छ ।

क्याम्पसको प्रशासनतर्फका कर्मचारी शैलेशकुमार झाले क्याम्पसको क्षेत्रभित्र बनाइएका टहराहरूमा पैसा उठाई अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी अनैतिक काममा सहभागी ५ जनालाई त्रिविले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नआएमा कारबाही गर्ने तयारी त्रिविको छ ।

२०१४ सालमा स्थापित महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजमा मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह सञ्चालन भइरहेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान र कानुन संकायमा स्नातक तह सञ्चालनमा रहेको छ ।

यस क्याम्पसमा जम्मा शिक्षक संख्या ५८ जना छन् । जसमध्ये स्थायी २६ जना, करार ५ जना, भारतीय करार ३ जना, आंशिक व्यवस्थापन २ जना र आशिक शिक्षक २२ जना छन् । कर्मचारी जम्मा संख्या २१ जना छ । जसमध्ये स्थायी १८ जना र करार ३ जना छन् ।
क्याम्पसमा जम्मा विद्यार्थी संख्या ३१०६ जनामध्ये मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ २०३ जना, व्यवस्थापन संकायतर्फ ६०८ जना, शिक्षाशास्त्र संकायतर्फ १२११ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ २६४ जना र कानुन संकायतर्फ ८२० जना छन् । अनलाइनखबर

समाचार वर्गहरू