बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

59

काठमाडौं – बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित ट्राफिक माेडमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस साँझ सडकबाट अनियन्त्रित भई करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको बैतडी प्रहरी प्रमुख दिपक कुमार  रायले बताए।
दुर्घटनामा घाइते भएका १० जनाकाे जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका-४ बस्ने लक्ष्मी ऐरी(२७), हेम बिक्रम जोशी(८), पुर्ण देवी जोशी(६०), पुजा कार्की(२२) र उनकी ३ बर्षिया छाेरी रहेकी छन्। त्यस्तै दशरथचन्द नगरपालिका-२ बस्ने ललिता लावड(२०),  जानकी लावड(३२), दशरथचन्द नगरपालिका-६, बस्ने लक्ष्मी साउद(३०), दशरथचन्द नपा-५ बस्ने कर्णदेव भट्ट(५२), पाटन नगरपालिका-९ कविराज भट्ट(३५) रहेकाे प्रहरीले जानकारी दिएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बसमा पाटन-८ का चालक केशब महरा(३७) सहित १२ जना सवार रहेको प्रहरीले बताएकाे छ । चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। रासस

समाचार वर्गहरू