सभामुखमा सापकोटा निर्विरोध; शिक्षकदेखी सभामुखसम्म

29

मध्यबिन्दु काठमाडौं –  प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज (आइतबार)  बसेको संसद बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । २०३५ सालमा नेकपा (चौथो महाधिवेशन)बाट पार्टी राजनीतिमा लागेका सापकोटाको जन्म वि.सं २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुविण्डेमा भएको हो । उनी आमा तिलमाया सापकोटा र बुबा धनपति सापकोटाका छोरा हुन् । सापकोटाकी श्रीमती र तीन छोराहरु छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरी १५ वर्ष शिक्षण पेशामा आवद्ध उनलाई धेरैले ‘अग्नि सर’का रुपमा समेत चिन्छन् ।

वि.सं २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीति समेत गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी)को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।
पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका सापकोटा विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित भएका छन् ।

सापकोटाले वि.सं २०६८ मा सूचना तथा सञ्चार मन्त्रालय र २०७३ मा वन तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

समाचार वर्गहरू