इतिहास
नेपालमा राष्ट्रियताको संरक्षण समर्थन गर्दै लोकतान्त्रिक समाजवाद्को सिद्धान्त अंगिकार गर्दै राष्ट्रियता लोकतन्त्र समाजवादको आदर्श एवं मूल सिद्धान्त अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बहुलवाद्मा आधारित बहुदलिय व्यवस्था तथा संसदीय शासन प्रणाली माध्यमबाट न्यायपूर्ण गतिशिल शान्तीपूर्ण समाजको निर्माण गरि नेपालमा सामाजिक, राजनैतिक, आर्थिक तथा भौतिक विकास गर्ने उद्धेश्य बोकेको सवैभन्दा पुरानो पार्टीको नाम नै नेपाली काँग्रेस हो ।
जननायक विश्वेश्वरप्रसाद कोईरालाले २ अक्टोबर १९४६ अर्थात वि.स. २००३ असोज १६ गते भारतबाट प्रकाशित हुने (द सर्च लाईट) पत्रिका मार्फत भारतमा बस्ने नेपालीलाई संगठित हुन आह्वान गरे । १५ कार्तिक २००३ मा नेपालीहरुलाई बनारसमा जम्मा गरि देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । वि.स. २००३ माघ ११ र १२ गते भारतको कलकत्तामा सम्पन्न प्रथम महाधिवेशनले वीपी कोईरालालाई कार्यकारी सभापति र नेपालको जेलमा आजिवन काराबासको सँजाय भोगीरहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन गरेको थियो । पछि २००४ साल श्रावणमा सुवर्ण संशेरको सक्रियतामा महेन्द्रविक्रम साहको सभापतित्वमा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भयो ।
कलकत्ताको टाइगरहलमा २७ चैत्र २००६ मा स्थापना भएको नेपाली काँग्रेस आजको मितिसम्म आइपुग्दा अनेकौँ राजनैतिक उतारचढाब पार गर्दै यो अवस्थामा आईपुगेको छ । २०१५ साल फागुन ७ गते प्रारम्भ भएको आमनिर्वाचनमा १ सय ९ सिट मध्ये ७४ सिटमा विजयी हाँसिल गरेको नेपाली काँग्रेसले २०१६ साल जेठ १३ गते प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा वीपी कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने अवसर प्राप्त गरेको थियो । करिब १८ महिना काम गर्न नपाउँदै तत्कालिन राजा महेन्द्रले जननिर्वाचित मन्त्रीमण्डल मात्र होइन जनताको संसद समेत भंग गरेका थिए ।
करिब डेढ वर्षसम्म मात्रै काम गर्न पाएको नेपाली काँग्रेसको सरकारले बिर्ता उन्मुलन राज्य रजौटा उन्मुलन, जिल्ला जिल्लामा विकास बोर्ड गठन, सहकारी संस्थाहरुको गठन, देशभर विद्यालयहरु स्थापना, त्रिभूवन विश्वविद्यालयको स्थापना, बालाजु औद्योगिक क्षेत्र स्थापना, चिनी र चुरोट कारखानाहरुको स्थापना, राजमार्गहरुको सर्वेक्षण, शिक्षण अस्पतालको स्थापना जस्ता अनेकौँ जनप्रिय र विकासका कामहरुको सुरुवात गर्यो । राष्ट्रिय योजना समितीको निर्माण, साही नेपाल, वायुसेवा निगम राष्ट्रियकरण पनि यहि सरकारको पालामा भएको थियो ।
१ सय ४ वर्षे जहानिया राणा शासन निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा भएका सवै आन्दोलनहरुको नेतृत्व त गर्यो नै, १० वर्षे द्धन्दको भूमरिमा फसेको नेपाललाई शान्तीपूर्ण शासन व्यवस्थामा सुरक्षित अवतरण गराउने काम समेत काँग्रेसकै जिम्मेवारीमा आयो र सहजै पुरा पनि गर्यो ।
निरंकुश पञ्चायती व्यवस्थाको अवशान पश्चात पटक–पटक गरि २०४६ देखि हालसम्मको ३० वर्षे अवधिमा एकल र संयुक्त गरि करिब १८ वर्ष सरकारको नेतृत्व गरेको काँग्रेसले परिवर्तित व्यवस्था पश्चातका महत्वपूर्ण समयमा नेपाल सरकारको नेतृत्व गरेको छ । ०४७ को संविधानको समय, २०६३ को गणतन्त्रको समय, २०७३ को संविधान जारी गर्दाको समय जस्ता नेपालका ऐतिहासिक कालखण्डमा नेतृत्वदायी भूमिकामा बसेको काँग्रेस अहिले हरेक विषयमा निरिह देखिनु आँफैमा चासोको विषय बनेको छ ।
वर्तमान
स्थापनाकालदेखि नै फुट र जुटको अभ्यासमै अघि बढेको काँग्रेस पछिल्लो समयमा भएका निर्वाचनमा समेत लज्जास्पद हार बेहोर्न बाध्य छ । एकातिर आफ्ना पितापूर्खाको पैत्रिक सम्पत्ती सरह मानेर अंशियारको रुपमा गैरराजनितीक पात्रहरु पार्टी नेतृत्वमा हावी हुँदै गएको देखिन्छ भने, अर्कोतिर पार्टीका संस्थापक विरासत बोकेको नेतृत्वहरुको वरिपरि रम्ने रमाउने अवसर पाएका पात्रहरुले त्यहि विरासति नारामा आफुलाई विलिन गराउँदै त्यसको ब्याज खान खोज्दा बुढ्यौलीवयका नेतृत्वहरु मै एकआपसमा वेमेलको अवस्था सिर्जना भएको छर्लङगै देखिन्छ ।
लोकतन्त्रको सच्चा संस्थापक मात्र नभई फरक सिद्धान्त र विचारधारालाई लोकतान्त्रिक मार्गमा डोहो¥याउनु आफैँमा चुनौतीको विषय हो । राज्य व्यवस्थाका यावत् अवयवहरु पार गर्दै आजको यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्दैमा काँग्रेसको जिम्मेवारी पूरा भएको मान्न सकिँदैन् । व्यवस्था स्थापना आफैँमा महत्वपूर्ण विषय त हो नै, यो भन्दा महत्वपूर्ण त व्यवस्थालाई संस्थागत गर्दै जनभावना अनुरुप रुपान्तरण गर्दै जानु हो ।
गुट–उपगुटको आन्तरिक कलहले ग्रसित आजको नेपाली काँग्रेसमाथि आफ्नै घरझगडा मिलाउने जिम्मेवारीको अलावा मूलुकै प्रमुख प्रतिपक्षी दलको हैसियतमा जनताले सुम्पेका जिम्मेवारीहरु पुरा गर्दै जानु अर्को महत्वपूर्ण दायित्व हो । जुन आजको अवस्थामा देखिएको निरिह काँग्रेसले पुरा गर्ने कुरामा विश्वस्त हुन कठिनाई छ ।
नेपालमा नेकपाको करिब दुई तिहाइको सरकार भएको वर्तमान अवस्थामा एकपछि अर्को गर्दै जनभावना विपरितका अनेकौँ क्रियाकलापहरु सरकारका तर्फबाट प्रश्तुत हुँदा समेत करिब निरिह भूमिकामा बस्नु काँग्रेसको राजनैतिक भविष्यका लागि समेत महङगो पर्न सक्छ । आफ्नै पार्टीको आन्तरिक कलहलाई व्यवस्थापन गर्दै आम नागरिकको चाहना तथा आफ्ना मतदाताले दिएको मतको इज्जतको समेत ख्याल नराखी अघि बढ्दै जाने हो भने विगतका नेताहरुले गरेका एकाग्र कामहरु र पितापूर्खा संस्थापककै विरासतको विक्रिबाट प्राप्त कमाईले कमाइले काँग्रेस जीवित हुने कुरा त्यति सहज देखिँदैन् ।
पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुको व्यवस्थापन समावेशी सिद्धान्तका आधारमा युवालाई पनि उचित जिम्मेवारी लोकतान्त्रिक पद्धती तथा विधानअनुरुप नेतृत्व तहबाट पार्टी सञ्चालन गर्दै पार्टीका सवै अंगहरुलाई यथोचित परिचालन तथा जिम्मेवारी दिँदै सक्रिय गराउँदै लाने हो भने, एउटा गर्भिलो ईतिहाँस बोकेको पार्टीप्रति अझैपनि जनताको भरोसा टुटीसकेको भने देखिँदैन् । आफ्नै कार्यकर्ता तथा मतदाताको मौनतालाइ कमजोरी यदि सम्झने हो भने भोलीका दिन दुर्भाग्यपूर्ण हुनेछन् भन्ने कुरामा जिम्मेवार नेतृत्व बेलैमा सचेत हुन जरुरी छ ।