इरानसँगको युद्धमा आगामी दुई दिन निकै आश्चर्यजनक हुनेछ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

5

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अब समाप्त हुने चरणमा पुगेको तर युद्धविराम अवधि थप्ने सम्भावना भने नरहेको प्रष्ट पारेका छन् । एबीसी न्युज च्यानललाई ट्रम्पले दिएको अन्तर्वार्तामा युद्ध चाँडै समाधानतर्फ जाने संकेत दिएका छन्।

‘आगामी दुई दिन निकै महत्वपूर्ण र आश्चर्यजनक हुनेछन्’ उनले भनेका छन्। ट्रम्पले युद्ध दुवै तरिकाले अन्त्य हुन सक्ने उल्लेख गर्दै कूटनीतिक समाधानप्रति आफ्नो झुकाव देखाएका छन् । ‘सम्झौता हुनु नै राम्रो हो, किनकि त्यसपछि उनीहरूले पुनर्निर्माण गर्न सक्छन्’ ट्रम्पले भने ।

उनले भने-अब त्यहाँ फरक शासन व्यवस्था छ। जुनसुकै अवस्थामा पनि, हामीले उग्रपन्थीहरूलाई हटाइसकेका छौँ । उनीहरू अब छैनन्।

यसैबीच,  ओमानको खाडीमा अमेरिकी युद्धपोतले इरानबाट निस्किरहेका दुई वटा तेल ट्यांकरलाई रोकेर फर्किन निर्देशन दिएको छ । ती ट्यांकरहरू इरानको चाबहार बन्दरगाहबाट बाहिरिएका थिए ।

समुद्रमै रहेको अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरी दिशा परिवर्तन गर्न आदेश दिएको बताइएको छ । ती दुई ट्यांकर अमेरिकाको केन्द्रीय कमाण्डले यसअघि फर्किन भनेका ६ वटा व्यापारिक जहाजमध्येका थिए । त्यसपछि सबै जहाज ओमानको खाडीस्थित इरानी बन्दरगाहतर्फ फर्किएका छन् ।

अमेरिकी सेनाले हर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए ।

यो कार्य इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै जहाजहरू जुनसुकै भए पनि सबैमा लागु हुने अमेरिकाले स्पष्ट गरेको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले इरानका चार जहाजहरू मंगलबार जलडमरूमबाट पार गर्न सक्षम भएको दाबी गरेका छन् ।

समाचार वर्गहरू