राष्ट्रियसभा बैठक : ‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रमको भनाइ पुष्टि’

24

रासस/काठमाडौं – राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आज बिहीबारको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भने, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।”

सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्री सहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्न माग गरे ।

सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरिन् ।
सांसद नन्दा चपाईँले चीनसँगको नाकाबाट ल्याइने तरकारी कोरोना भाइरसका कारण आउन नसक्दा महँगो हुँदै गएकाले नेपालमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।

सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाए ।

समाचार वर्गहरू