मध्यबिन्दु/काठमाडौं – सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी)मा डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई आइजिपी बनाउने निर्णय गरेको हो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले आइजिपीबारे कुनै निर्णय लिन नसकेपछि मंगलबार बैठक राखिएको थियो ।
आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश लिए । तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत हिजो नै अनिवार्य अवकाश लिएपछि सरकारले ज्ञवालीलाई डिआइजीबाट सोझै आइजिपीमा बढुवा गरेको हो । ज्ञवालीको सेवा अवधि ५ महिनाको हुनेछ । ३० वर्षे सेवा अवधिबाट आगामी असार २४ मा उनले अनिवार्य अवकाश पाउने छन् ।
वि.सं २०४७ असार २५ गतेदेखि प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका ज्ञवाली प्युठान जिल्लाको झिमरुक गाउँपालिका (साविक बाँदीकोट गाविस)मा २०२२ असोज २८ गते जन्मेका हुन् । उनी बुबा नारायण प्रसाद ज्ञवाली तथा स्वं.आमा सुमित्राको कोखबाट छैठौं सन्तानका रुपमा जन्मिएका थिए । उनकी श्रीमती ज्ञानु ज्ञवाली हुन् । उनीहरुका एक छोरी र एक छोरा छन् ।
प्यूठानको बाल शिक्षा माविबाट एसएलसी उत्तींर्ण गरेका ज्ञवालीले त्रिचन्द्र कलेज काठमाडौंंबाट आइएस्सी र स्नातक तह उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन समेत गरेका छन् । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए ।