सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

16

काठमाडौं – नेपालीमा बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । विगत डेढ महिना देखि निरन्तर उकालो लागेको सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो । मूल्य घटेर सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा केही गिरावट आएसँगै कारोबार वृद्धि हुने अपेक्षा व्यवसायीको छ । यसअघि, सुनको मूल्य अत्यधिक वृद्धि भएका कारण कारोबार शुन्य प्राय भएको महासंघले जनाएको छ ।

साउन ८ गते प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मूल्य लगातार गिरावट आएको हो । ९ गते सुनको मूल्य प्रतितोला एक हजारले घटेर ७१ हजार कायम भएको थियो । १० गते २ सय रुपैयाँले घटेर सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महान चाड दशैंमा पनि कारोबारमा भने सुधार आउन नसकेको व्यवसायी बताउँछन् ।

सुनसँगै चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य घटेर प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समाचार वर्गहरू