भीभीआईपी उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

13

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चीनफिङको भीभीआईपी उडानका कारण दुई दिन भोलि र पर्सी अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ ।

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आउनु हुनेछ । उहाँ सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भोलि र पर्सि हुने उडानबारे आज नोटिस टू एयरमेन नोटाम जारी गरिएको बताए । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ ।

नोटम लागू हुने अवधि भोलि दिउँसो २ बजेर ५५ मिनेट देखि साँझ ५ बजेर २५ मिनेट सम्म र पर्सि बिहान ११ बजेर २० मिनेट देखि १ बजेर ५० मिनेट सम्म तोकिएको छ ।

सो अवधिभर उडान तथा अवतरण र भैपरी आउने व्यवस्थापनलाई ध्यानमा राखेर समय निर्धारण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्न कार्यालयले जनाएको छ । आन्तरिक उडानको तालिका नोटाम अवधिको अघि र पछि व्यवस्थापन गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी दुई वटा जेट विमान काठमाडौं आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । भोलि आइपुग्ने ती दुई विमान पर्सी मात्रै चीन फर्कने छन् । काठमाडौं विमानस्थलमा एक पटकमा नौ वटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ ।

चिनियाँ राष्ट्रपतिका दुई वटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो । चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले भोलि र पर्सि दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ ।

समाचार वर्गहरू