काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुन रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले संख्याको दम्भ नदेखाउन चेतावनी दिए । उनले भने, ‘हामीले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका छौँ । यसमा सभामुखको हामीलाई साथ मिलेन, सरकारले टेरेन ।
पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, जवाफदेही तर सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ ।’ उनले सभामुखले हर्कको व्यवहारप्रति प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउँदै रास्वपाको विगत सम्झाए । उनले थपे, ‘आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो ।
सरकारको जवाफदेहिता खोज्दै नीलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो । वेलमा पुगेर पलेँटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारुढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो ।
मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित रु त्यो पनि गलत थियो र अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।’