(काठमाडौं) – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरे ।
गत बैशाख ३० गते भारतबाट नेपाल फर्किएका उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । लगातार दुई घन्टा वान्ता गरेका उनको बिहान ४ बजे मृत्यु भएको थियो ।
नरैनापुरस्थित दिपेन्द्र माविको क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय युवकको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।