लक्ष्मी पूजाको दिन विद्युतको माग उच्च

16

(काठमाडौं) – लक्ष्मीपूजाको दिन हिजो विद्युत् उच्च माग १ हजार ८९ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन हिजो साँझ साढे ६ बजे पिक डिमाण्ड १ हजार ८९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत बर्ष लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड १ हजार १ सय ५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमाण्ड १ हजार ३ सय २० मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहककाबाहेकको हो ।

औद्योगिक ग्राहकको विद्युत माग करिब ३ सय मेगावाट छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३ सय ३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए ।

प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट ४ सय ३६ मेगावाट र भारतबाट १ सय ७ मेगावाट नेट आयात गरी १ सय ८९ मेगावाट विद्युत् आपूर्ति गरेको जनाएको छ ।

यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्रा र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर वत्तिबाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली संचालनका लागि राम्रो हो’ उनले भने, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिंदो रहेछ,अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरुप अव वास्तविक डिमाण्ड देखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए ।

लक्ष्मीपूजाको दिनमा काठमाडौंको चपली–शिवपुरी, सुनसरीको दुहवी—धरान, रुपन्देहीको बुटवल–नयाँ मिल र बाँकेको कोहलपुर–गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केहीछिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो ।

तर तीन लाइनहरुलाई करिब २ मिनेट भित्रमै संचालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

‘काठमाडौंको महाराजगंज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुक्बाराही, सामाखुशी क्षेत्रमा रहेका स्थानीय ट्रन्सफर्मरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौं,’उनले भने ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

समाचार वर्गहरू