काठमाडौं – वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।
धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।
सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।” उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोप्नुभएको छ । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् ।
ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारी दिए ।