वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
संक्रमितमध्ये ४३ जना वीरगञ्ज महानगरपालिका, एक जना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् ।
संक्रमित ४५ जनामध्ये वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको दुई जना र उनका ४ जना कर्मचारी समेत रहेका छन् । उपाध्यायका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा संक्रमण देखिएको छ ।
४५ जना संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएको मेसु डा. उपाध्यायले बताए । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी साउन १५ मा वीरगन्ज-११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।