काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न ‘निर्वाचन ब्युरो’ गठन गरेको छ। उक्त ब्युरोको संयोजकत्व उपसभापति पुष्पा भुसाललाई दिइएको छ।
कांग्रेसले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्व प्रतिष्ठान गठन गरेको हो।
प्रतिष्ठानमार्फत नेतृत्व विकास तालिमसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।
पार्टी सङ्गठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय स्तरमा समन्वय गर्ने संयन्त्र पनि निर्माण गरिएको उनले बताए। महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा गठित संयन्त्रमा सहमहामन्त्री बहादुर सिंह लामा र मुकुन्द यादव सदस्य छन्।
यस्तै, पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन अर्को समिति गठन गरिएको छ।
महामन्त्री प्रदीप पौडेलको संयोजक रहेको समितिमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन्। उक्त समितिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।