मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त पक्राउ

27

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रही फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङ रहेका छन् ।

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका ४ जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाईदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखेका थिए ।

भारतस्थित नेपाली दुतावास समेतको सहयोगमा उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई मनोपरामर्श पश्चात् आफन्तको जिम्मा लगाइएको थियो ।

उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । तामाङ उपर कानुन बमोजिम अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

समाचार वर्गहरू