काठमाडौं – सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय विश्व प्रकाश पनेरु रहेका छन् ।
कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी पास किर्ते गरी ठगी गरेको अभियोगमा उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विदेशमा अलपत्र परी उद्दार गरिएका यात्रुहरुलाई आ-आफ्नो घर ठेगानामा पठाउनका लागि कोभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरिएको होल्डिङ सेन्टरबाट दिइने सवारी पास पनेरुले किर्ते सहिछाप गरी सर्वसाधारणलाई प्रति थान दुई हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले टोखा नगरपालिका-७ तिलिंगेटारबाट शंकास्पद कागजात सहित उनलाई पक्राउ गरेको हो ।पनेरु पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटिएका डिलर प्रतिनिधि रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनको साथबाट उक्त केन्द्रबाट जारी गरिएको सहीछाप गरेको र नगरेको १/१ थान सवारी पास र दुई हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । पनेरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।