(काठमाडौं) – रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनालले सोमबारबाट व्यवसायिक उत्पादन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार भित्रैबाट ६० मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर आयोजनाका उद्घाटन गरेका हुन् ।
काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ उद्घाटन गरे ।
यसअघि नै आयोजनाको दुवै युनिटबाट परीक्षण उत्पादन सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको पहिलो यूनिटबाट जेठ ३ र दोस्रो यूनिटबाट साउन १७ गते परीक्षण उत्पादन सुरु भएको थियो ।
आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमतामा चल्ने छ । त्यस्तै, हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ । आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करीब ७ प्रतिशतको योगदान दिने छ ।
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको बताएका छन् । प्रधानमन्त्री ओलीले यस आयोजनाको सञ्चालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत पुग्ने बताए ।
‘गरिबी निवारण गर्न आयात कटौती र निर्यात वृद्धि गर्नुपर्छ, यस आयोजना सञ्चालनले विद्युत आयात कम गर्दै आफैंले उत्पादन गरेको विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं ।’
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यस्ता आयोजनाहरुको निर्माणलाई तीब्रता दिएको प्रधानमन्त्रीले स्पष्ट पारे । ‘सामाजिक न्याय, सुशासन र जनतामा सहज सेवा उपलब्ध गराउन हामी पूर्वाधार निर्माणलाई तीब्रता दिइरहेका छौं’ उनले भने, ‘यसका माध्यमबाट हामी देशलाई मध्यम आय भएको देशका रुपमा पु¥याउने छौं र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने छौं ।’
प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजनाहरु निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको बताए । छिटै र कम मूल्यमा पूर्वाधार विकासको नतिजा हासिल गर्न उचित मुआब्जा मात्रै दाबी गर्न आह्वान समेत गरेका छन् ।
‘आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने र मुआब्जा लिनु पर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसबाट कम मूल्यमा धेरै विकास परिमाण हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ । अव यस्तो प्रवृत्तिलाई त्याग्नु पर्छ ।’
प्रधानमन्त्री ओलीले वातावरणमैत्री र दुर्घटना जोखिम कम हुने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको पनि बताए । उनले त्रिशूली थ्री ए आयोजना निर्माणमा संलग्न जनशक्तिलाई धन्यवाद ज्ञापन गर्दै आयोजनाको सफलताप्रति देशवासीलाई बधाई दिए ।
२०७१ जेठमा सक्ने भनि ठेक्का २०६७ मा सम्झौता गरिएको आयोजना विभिन्न विवादका कारण तोकिए भन्दा ५ वर्ष ढिला गरी सकिएको हो । आयोजनाको कुल लागत निर्माण अवधिको व्याज सहित १७ अर्ब ३२ करोड रुपैयाँ लागत भएको प्राधिकरणले जनाएको छ ।
चीनको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण गरिएको हो । आयोजनाको लागि चिनियाँ एक्जिम बैंकले १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण दिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।