काठमाडौं – सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले बझाङ घटनाका बारेमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेर सांसदहरुले बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विकले बताईन ।
सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे ।
उनले सो घटना मुलुक कै चुनौतीका रुपमा रहेको भन्दै आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त जनाए । बझाङको मष्टा गाउँपालिकामा गत बुधबार १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।