भद्रपुर विमानस्थल आजदेखि पुनः सञ्चालनमा

15

(झापा) – झापाको भद्रपुर विमानस्थल आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ । मर्मत तथा स्तरोन्नतिका लागि गत कार्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो ।

‘निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेर कार्य सकेको हो,’ चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘आजदेखि पुनः विमानस्थल आएको छ । अबदेखि नियमित उडान हुन्छ ।’

विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो । जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो ।

धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । विमानस्थलमा इन्धन सेवा, वारुण यन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नति लगायतका काम गरिएको हो ।

यस अघि गरेका मर्मत सम्भारका काम प्रभावकारी नभएको भन्दै पुनः अहिले मर्मत सम्भार र स्तरोन्नतिको काम गरिएको कार्यालयले जनाएको छ ।

समाचार वर्गहरू