नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित भएका छौ : कांग्रेस नेता आङ्देम्बे

41

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर प्रमाण खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफूहरु लज्जित भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै क्रममा उनले सो टिप्पणी गरेका हुन ।

नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्ष केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाए । उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पारे । उनले भने, ‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो ।

यही संसदले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन । संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनु पर्दछ । हामी सबै यहीँ चाहन्छौं । त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबै नै सरकारको साथमा नै थियौं, र छौँ । तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भीर विषयप्रति गम्भीर देखिएन ।’

उनले अगाडि थपे, ‘आजको मितिमा यो संसद्‍मा प्रश्न गर्ने क्षमताले आत्माहत्या गरिराखेको बडो कारुणिक दृष्य मैले देखिराखेको छु । सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान् । मेरो देशले कसेको सीमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैँ लज्जित छु ।

उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थें तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ । नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि ।’

नेता आङ्देम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गरे । यसैगरी नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटको भुमरीमा फसेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले ‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ । यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ ।’ ‘पहिलो घटना जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले नेपालको भारतको जग्गा मिचेको भन्नेबाट संकट उत्पन्न भएको हो,’ बादलले भने, ‘त्यो घोषणा र अभिव्यक्तिबाट यो संकट उत्पन्न भएको हो ।

यो घोषणा रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण जानुको ठीक एक दिन अगाडि आकस्मिक रूपमा यो रोष्ट्रममा आएर उहाँले त्यो सन्देश दिनुभएको हो ।’ त्यो बिन्दुबाट अर्को रास्वपाका सभापति लामिछाने दिल्लीमा गएर जुन विचार व्यक्त गरेको अर्को बिन्दु रहेको उनले बताए । ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं, यो अभिव्यक्तिले संकट पैदा गरेको हो,’ उनले भने ।

त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दा भदौ २३ र २४ गतेबाट संसद् विघटन र नयाँ सरकार गठन जोडिने उनले बताए । ‘त्यो बेला एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई मन्त्री बन्नुछ भने अमुक दूतावासको अनुमति लिनुपर्छ भन्ने विगतका घटना पुनस्स्मरण भएर आउँछ,’ उनले भने । ‘रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालको सनसनीखेज खुलासा व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनका निम्ती म जे पनि सम्झौता गर्न तयार छु, त्यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्‍याइदेउ भन्ने,’ बादलले अगाडि भने, ‘त्यो बिन्दु र यो बिन्दु जोडेर हेर्दा संकटको स्रोत थाहा हुन्छ ।’

यी संकटको समाधान प्रधामनन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालको हातमा रहेको बताए । त्यसमा बालेनले संसद्को रोस्ट्रममा उभिएर आफ्नो भनाइ फिर्ता लिएर माफी माग्ने वा रास्वपा सभापति लामिछानेले आफ्ना प्रधानमन्त्रीलाई माफी माग्न लाउने वा सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने रहेको उनले बताए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री बालेन्द्र साहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । ‘अहिले प्रधानमत्रीले बोले आज रास्वपाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नुभयो भन्ने विषयवस्तु होइन, भोलि अर्को प्रधानमन्त्री आउँदा तिम्ले हाम्रो देशको सीमा मिचेका छौं, कहाँकहाँ मिचेका छौं देऊ भन्योभने कहाँको भूमि दिने ?,’ शाहीले भने, ‘अति संवेदनशील मुद्दा हो ।’

उनले धेरैले संसद् काम गर्ने थलो हो भनेको बताउँदै उनले भने, ‘यो पनि काम नै हो । देशभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्रभन्दा ठूलो अरु के छ र ?’ देशको इतिहास अहिले चुनाव गरेजस्तो, गीत गाएजस्तो केही गरेर चुनाव जितेजस्तो नभएको उनले बताए । ‘नेपाल देश भएकै कारण अहिले हामी कोही मन्त्री, कोही सांसद भएका छौं ।

त्यसैले देशको कुरा आउँदा त्यसै स्वीकार गर्ने कुरा आउँदैन,’ शाहीले भने । सीमाको विषयमा प्रधानमन्त्रीको जवाफ चाहिने उनले बताए । उनले भने, ‘यो चिया पसलमा दिएको अभिव्यक्ति होइन, देशको प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति हो ।’ यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा बोल्न समय आन्दोलन गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यो देश आन्दोलन र झैझगडाबाट भएको भन्दै कटाक्ष गरे।उनले भने, ‘अब यो सदनमा बोल्नको लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यता आउनको लागि पनि आन्दोलन गर्दै आएको मान्छे। यो आन्दोलन नै आन्दोलनको देश, झै(झगडा, आगजनीको देश, कुटपिट, काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ।

शायद हामी त्यसकै तरिकाले ग्रोम अप भएर आयौँ होला।’ उनले सदन विधिबाट सञ्चालन गर्नुपर्ने बताए। उनले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनको लागि रुलिङ गर्न माग गरे। उनले सीमा मिचिएको विषयमा हेर्न बुझ्न सेनालाई पनि पठाउन माग गरे ।

समाचार वर्गहरू