सभामुख सापकोटा र दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार भेट

26

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकबी भेट वार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत पार्कलाई सफल कार्यकालको शुभकामना दिए ।

उनले नेपाल र दक्षिण कोरियाबीच ४६ वर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका राष्ट्रपति, सभामुख र कोरियाली जनतालाई बधाई दिए । सभामुख सापकोटाले हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्धको लडार्इंंमा दक्षिण कोरियाले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गर्दै महामारीकाबीच नेशनल एसेम्लीको चुनाव सम्पन्न गरी विश्वलाई उदाहरण पेश गरेकोमा खुशी व्यक्त गरे ।

उनले छोटो समयमै दक्षिण कोरियाले गरेको चामत्कारिक प्रगतिबाट आफू निकै प्रभावित रहेको चर्चा गर्दै त्यहाँको विकास मोडलबाट नेपालले पनि सिक्न चाहेको बताए । सभामुख सापकोटाले दक्षिण कोरियाले कोइका मार्फत नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि नेपाल कोरिया सम्बन्ध थप सुमधुर रहने विश्वास व्यक्त गरे ।

नेपालका युवाको सीप विकासमा दक्षिण कोरियाले गरेको सहयोग सह्रानीय रहेको बताउँदै सभामुख सापकोटाले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट र प्रगाढ बनाउने बताए । राजदूत पार्कले दक्षिण कोरियामा छोटो अवधिमा गरिएको विकासका आधारहरु अरु मुलुकहरुमा पनि बाँड्न चाहेको बताउँदै नेपालको विकासमा गर्न सकिने सहयोगका विषयमा छलफल भइरहेको बताए ।

उनले नेपालको प्रदेश २ मा सीप हस्तान्तरणका लागि काम गरिरहेको जानकारी दिंदै जलवायु परिवर्तनको क्षेत्रमा संगै अघि बढ्ने प्रतिबद्धता जनाए । राजदूतपार्कले दक्षिण कोरियाले नेपालमा कोरियन भाषाको पठनपाठनमा समेत सहयोग गर्न लागेको जानकारी गराउँदै यसबारे छिट्टै विस्तृत जानकारी गराउने बताए ।

समाचार वर्गहरू