नेकपाका अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच भेट

21

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष दाहाल मंगलबार साँझ शीतलनिवास पुगेका हुन् । नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति र अध्यक्ष दाहालबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ । यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन् ।

मंगलबार साँझ राष्ट्रपतिलाई भेटेर दाहाल फर्किएको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच के विषयमा छलफल भयो भन्‍ने सार्वजनिक भइसकेको छैन । यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन् ।

बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठक सार्न खोजेका छन् भने दाहाल बैठक गर्ने पक्षमा छन् । दाहालले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् । दाहालले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

समाचार वर्गहरू