सूर्य थापाले किन हटाए फेसबुकबाट वामदेवको फोटोसहितको स्टाटस ?

18

काठमाडौ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले आइतबार बिहान पोष्ट गरेको वामदेव गौतमको सडक डिभाइडर नाघेर बाटो काटेको तस्वीरसहितको स्टाटस फेसबुकमा भाइरल भयो ।

६ बर्षअघि ट्राफिक नियम विपरीत वीर अस्पतालअगाडिको सडकमा डिभाइडरबाट नाघेर बाटो काट्दै गरेको नेकपा उपाध्यक्ष वामदेव गौतमको फोटो थापाले पोष्ट गरेका थिए । शनिबारको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई हटाउन सुझाव दिएको समाचार बाहिरिएपछि थापाले उक्त फोटो आफ्नो फेसबुकमा राखेका थिए ।

६ बर्षअघिको फोटो फेसबुकमा राखेपछि थापाका बिरुद्ध प्रेस संगठन बागमती प्रदेशका इन्चार्ज तथा गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले थापाको बिरोध गर्दै स्टाटस लेखेका थिए । जुन स्टाटसका आधारमा कतिपयले समाचार नै बनाएपछि आइतबार दिनभर थापाको पक्ष र विपक्षमा सामाजिक संजालमा नेकपा कार्यकर्ताबीचमा जुहारी चलिरह्यो । गौतमको फोटोसहितको स्टाटस विवादमा परेपछि थापाले आइतबार दिउँसो आफ्नो वालबाट हटाएका छन् ।

 

समाचार वर्गहरू