संसारभर देखिन थाल्‍यो कोरोनाको नयाँ प्रकार

25

काठमाडौं – पहिलाको भन्दा थप सङ्क्रामक पाइएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार विश्वका विभिन्न देशमा देखिन थालेको छ । पहिलोपटक बेलायतमा पहिचान भएको कोरोना भाइरसको नयाँ प्रकार अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ ।

स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड, जापान र स्वीडेनमा यसअघि बेलायतबाट आएका मानिसहरु यही नयाँ भाइरसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् । यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन् । बेलायतमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोही कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ ।

अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए । जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँच जना यात्रुमा सङ्क्रमण देखिएको थियो । त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ ।

जापानले सोमबारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ । फ्रान्समा १९ डिसेम्बरमा बेलायतबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले सीमा बन्द गरेको थियो ।

बेलायतमा देखिएको जस्तो संक्रमण निगरानी विश्वका थोरै राष्ट्रमा मात्र भएकाले नयाँ प्रकारको कोरोना भाइरस दुई सातासम्म संसारका अन्य ठाउँमा पहिचान हुनु अगावै पुगिसकेको ठानिएको छ । बेलायतका वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरस भन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन् ।

समाचार वर्गहरू