गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔं : मन्त्री अर्याल

23

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छन् । निरीक्षणका लागि बुधबार विभाग पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन सुरु गरेकी हुन् । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताईन् ।

खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । ‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुँदैन । अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु योजना सहित अगाडि बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिईन् । नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उउनले आग्रह गरिन् । प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

अभिभावकत्व ग्रहण गर्ने सन्दर्भमा मन्त्री र सचिवहरुको साथ सधैं रहने भन्दै उनले राम्रो काम गर्नका निम्ती कसैसँग नडराइकन काम गर्न समेत निर्देशन दिईन् । नराम्रो काम गर्नका लागि मात्र डराउनुपर्ने भन्दै उनले भनिन्, ‘राम्रो काम गर्न डराउनुपर्दैन । डराउने भनेको नराम्रो काम गर्नका निम्ती हो । थप उर्जा, जोशजाँगरका साथ यो गतिलाई अगाडि बढाउनुस् ।’

भन्सार क्षेत्रमा प्रभावकारिता बढाउनेगरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडी बढाउनुपर्ने बताईन् । त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडी बढ्नुपर्ने बताए ।

समाचार वर्गहरू