काठमाडौं – २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावट समेत सकेर सोमबार उद्घाटनको तयारी भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिम बाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।
प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेकोे एकाइले जनाएको छ ।
पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउनुहुने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनर्निर्माण गरिएको बताए ।
‘‘हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्पप्रतिरोधी हुने गरी पुनर्निर्माण गरेका छौँ । अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा रहने गरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरूप कार्यकक्ष तथा बैठककक्ष निर्माण गरिएको छ,’’ उनले भने ।
पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।
सिंहदरबार पुनर्निर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत यी मोहडाको पुनर्निर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।
उत्तर, दक्षिण र पूर्व खन्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोन्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए । निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो ।
प्रबलीकरण भइरहेको छ पश्चिम मोहडा
आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो ।
सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण गर्ने कार्य भइरहेको छ । वि.सं. २०७६ असोज २७ गतेदेखि सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । मूल्य अभिवृद्धि करबाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ ।