साझा खवर/काठमाडौं – बाँकेमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाइ समितिले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेका हुन् ।
पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा नै पुगेर समापन भएको थियो । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले नाराबाजि गर्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
आइतबार कोहलपुरमा ट्रकको ठक्करबाट एक छात्रा गम्भिर घाइते भएपछि प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनमा विद्यार्थीसहित झण्डै एक दर्जन मानिस घाइते भएका थिए ।