काठमाडौं – सोमवारदेखि लगातार वार्तामा रहेका नेकपा (एमाले)का नेताहरु सहमतिमै पुगिसकेको बताइएको छ । विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले शुक्रवार नै सहमति सार्वजनिक गर्ने घोषणा गरेपनी कार्यदलको बैठक पनि टुंगोमा भने पुग्न सकेको छैन ।
कार्यदलका नेताहरुले आइतवार एमाले भित्रको विवाद समाधान भएको घोषणा हुने दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलको संयोजक रहेका नेता सुवास नेम्बाङले कार्यदलले वार्ता टुंग्याएको बताउँदै आइतवार बिहान ८ वजे नै एमाले एकताको औपचारिक घोषणा हुने दाबी गरेका छन्।
‘हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ वजे तपाईँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ। सबै सहमति भोलि भन्ने छ,’ उनले भने।
शुक्रवारको वार्तापछि सहमतिको खाका बनेको भएपनि भाषा नमिलेको भन्दै शनिवार एकता घोषणा हुने कार्यदलका नेताहरुले बताएका थिए। नेम्बाङले शनिवार भने सहमतिको खाकामा भाषा पनि मिलिसकेको दाबी गरे।
सहमति घोषणाअघि पनि ओली-नेपालबीच भेट हुने नेताहरुको भनाइ छ। नेम्बाङले पनि एकता भएपछि भेट्नु ठूलो कुरो नभएको प्रतिक्रिया दिएका छन्।