भारतमा फोन जासुसी, तरंग नेपालसम्म

10

काठमाडौँ – राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ ।

इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ । एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको दाबी गरेको छ । तर, भारतमा भने सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोनमा पेगाससबाट हमला गरिएको पुष्टि भएको छ ।

भारतमा सफ्टवेयरबाट फोन जासुसी गरिएको खबरले हलचल आएको छ भने यता नेपालमा पनि कूटनीतिक विज्ञहरू चिन्तित भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया र नेपालका राजदूतको नम्बर जासुसीमा परेको अनुसन्धानले देखाएको छ ।

द वायरका संस्थापक सम्पादकद्वय सिद्धार्थ बर्द्धराजन र एमके बेणु तथा कूटनीतिक मामिला सम्पादक देवीरूपा मित्रा तथा पत्रकार रोहिणी सिंहको फोन पनि निसानामा रहेको भेटिएको छ । गृहमन्त्री अमित शाहका छोरा जय शाहको कारोबार, प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी व्यापारी निखिल मर्चेन्ट र प्रभावशाली मन्त्री पीयूष गोयलको विषयमा रोहिणीले रिपोर्ट लेखेकी थिइन् । जसले सुरक्षा मामिलामा लेख्छन् ।

पेगाससको सूचीमा भेटिएका भारतीय पत्रकारका १३ आइफोन तथा ९ एन्ड्रोइड फोन जाँच गर्दा स्पाइवेयर भेटिएको जानकारी द वायरले दिएको छ । ‘शंकास्पद नम्बर भएका फोन सेट एम्नेस्टी इन्टरनेसनलको प्रयोगशालामा जाँच गरिएको थियो, यी फोन कुनै न कुनै रूपमा संक्रमित भएका देखिएका छन्,’ वायरले लेखेको छ ।

तर, पेगासस हमलामा भारतीय पत्रकार मात्र होइन, राजनीतिक दलका नेता, कूटनीतिज्ञ र संवैधानिक आयोगका पदाधिकारी पनि परेका छन् । कंग्रेस नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका भतिजा अभिषेक बनर्जी, पूर्वनिर्वाचन आयुक्त अशोक लवासा, निर्वाचन रणनीतिकार प्रशान्त किशोर पनि निसानामा देखिएका छन् । त्यतिमात्र होइन, मोदी सरकारकै मन्त्री अश्विनी वैष्णव र प्रह्लाद पटेलको नम्बर पनि पेगाससको सूचीमा भेटिएको छ । उनीहरू दुई साताअघि मात्र मन्त्री बनेका हुन् । ‘मन्त्री मात्र होइन, हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघका पदाधिकारीको पनि जासुसी गरिएको आशंका छ, थप खबर आएपछि यो विषयमा बोल्नेछु,’ भाजपा नेता सुब्रमनियनको भनाइ उद्धृत गर्दै द हिन्दुले लेखेको छ ।

फोन जासुसीलाई लिएर भारतमा विरोध चर्किएको छ भने नेपालमा पनि चिन्ता बढेको छ । भूराजनीति एवं सैन्य कूटनीतिक मामिलाका जानकार पूर्वउपरथी बिनोज बस्न्यात छिमेकी मुलुकमा ‘इन्टरसेप्सन/फोन ट्यापिङ’ सम्बन्धी विवादित विषय बाहिर आउँदा नेपालमा पनि त्यसको नकारात्मक असर पर्ने बताउँछन् । ‘छिमेकमा अनधिकृत रूपमा कूटनीतिज्ञलगायतको फोन ट्यापिङ गरेर व्यक्तिगत विवरणमाथि राज्यले निगरानी गरेको विषय बाहिर आएको छ । शक्तिको दुरुपयोगबाट हुने यस्ता विषयले विवाद निम्त्याउँछ,’ बस्न्यात भन्छन्, ‘नेपाल, भारत वा अरू कुनै पनि प्रजातान्त्रिक मुलुकमा व्यक्तिगत गोपनीयताको अधिकार र कूटनीतिक सम्बन्धमा हस्तक्षेप गर्ने यस्ता काम हुन्छन् भने अस्वीकार गर्नुपर्छ ।’

बस्न्यातका अनुसार अमेरिकामा राष्ट्रहितविपरीतका गतिविधि गरेको पाइएमा विदेश मन्त्रालयले जवाफदेही बनेर ‘इन्टरसेप्सन’ गर्न सक्छ । तर, राष्ट्रहितबाहेकका विषयमा ‘इन्टरसेप्सन’ गरेको भनेर कसैले अदालतमा मुद्दा हालेमा अनुमति दिने व्यक्ति नै कारबाहीको भागीदार हुने उनको भनाइ छ ।

सूचना/प्रविधि विज्ञसमेत रहेका अधिवक्ता बाबुराम अर्याल पेगाससमार्फत नेपाली राजदूत आचार्यसमेत इन्टरसेप्सनमा परेको हुन सक्ने समाचार निकै गम्भीर रहेको बताउँछन् । ‘पेगाससमार्फत भारतस्थित विभिन्न कूटनीतिक व्यक्तित्वहरू इन्टरसेप्सनमा परेको भन्ने समाचार बाहिर आएको छ, यसमा दिल्लीस्थित नेपालका राजदूत पनि पर्नु भएको छ भने यो हाम्रो देशको सार्वभौमिकताविरुद्धको कदम हो, यो विषयलाई नेपाल सरकारले गम्भीर रूपमा लिनुपर्छ ।’कान्तिपुर बाट ।

समाचार वर्गहरू