दाइजो लेनदेन हुने विवाहमा सहभागी हुन्न : उपसभामुख रुबिना ठाकुर

6

काठमाडौँ । उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख भएको देख्न नपाइएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।’ उनले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानूनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन् ।

उनले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउँदै समाज परिवर्तनका कुरा गर्दा, देश विकासको सपना देख्दा र सामाजिक कुरीतिविरुद्ध उभिँदा परिवर्तनको सुरुवात आफैँबाट गर्नु पर्ने बताइन् ।

उनले भनिन्, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।’ उनले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने र दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरिनु पर्ने बताएकी छन् । ‘निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानूनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन पनि उनले अनुरोध गरेकी छन् ।

सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।
दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो।
यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ। यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।
यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं। अत: विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं। धन्यवाद।
रुवि कुमारी ठाकुर
उपसभामुख

समाचार वर्गहरू