सरकारको १० बुँदे साझा कार्यक्रम र आचारसंहिताको खाका तयार

11
फाइल फोटो

काठमाडौँ –  सरकारको न्यूनतम कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिताको प्रस्ताव तयार भएको छ । उक्त प्रस्तावमा पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काएका प्रणालीलाई ‘लिक’मा ल्याउने मुख्य उद्देश्य समेटिएको छ ।

सत्ता गठबन्धनले बनाएको कार्यदलले बुधबार आचारसंहिता, सरकार सञ्चालन कार्याविधि र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

कार्यदलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुले छलफल गरेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ।

सरकार सञ्चालन कार्यविधि १० बुँदा र आचारसंहिता पनि १० बुँदामा छ । न्यूनतम साझा कार्यक्रम ११ बुँदामा छ । स्रोतका अनुसार न्यूनतम साझा कार्यक्रम, मन्त्रीहरुको आचारसंहिता र कार्यविधिमा निम्न विषयहरु समेटिएका छन् :

– आउँदो चैत मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने

– कोभिड नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक रुपमान्तरणमा केन्द्रित हुने

– संघीय कार्यान्वयनमा केन्द्रित हुने

– संघीय लोकतान्त्रिक गणतन्त्रप्रति उत्तरदायी बन्ने

– मन्त्रीहरुका भ्रष्टाचारजन्य कुनै पनि गतिविधि देखिए तत्काल पदमुक्त गर्ने

– मन्त्रीहरुले कुनै कूटनीतिक नियोगका पदाधिकारी भेट्नु परे अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने ।

– मन्त्रीहरुले कुनै पनि नियुक्ति गर्नुपर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रुपमा नियुक्त गर्नुपर्ने ।

– अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने ।

– मन्त्रीहरुले ‘सादा जीवन कडा परिश्रम’ को नीति अबलम्बन गर्नुपर्ने ।

समाचार वर्गहरू