राष्ट्रपति र पूर्वराजाले नै मिचे कोरोना प्रोटोकल

25

काठमाडौं – कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ । जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार दुई हजार चार सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले आइतबार तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारलाई गरेको थियो । त्यसको लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको थियो । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले पनि त्यही निर्देशन जारी गरेका छन् ।

तर, मंगलबार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले भिड जम्मा गरेका छन् । सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न उनीहरू पुग्दा ठूलो भिड जम्मा भएको थियो ।

राष्ट्रपति सुरक्षाकर्मी मात्र लिएर गए पनि कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड थियो । विगतका वर्षहरूमा राष्ट्रपति यसरी नजाने गरे पनि कोरोनाकै समयमा भने यस्तो कार्यक्रममा जानुलाई सुरक्षाकर्मीले समेत अनौठो मानेका छन् । मंगलबार नै राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका– १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन् ।

राष्ट्रपतिले अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा कार्यक्रम मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छिन् । ३००औँ पृथ्वी जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी पुगेकी थिइन् । त्यसअघि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित हुँदा त उनका समर्थकको ठूलो भिड नै थियो । त्यस्तै, राप्रपाका नेता तथा कार्यकर्ता नारा–जुलुससहित त्यहाँ पुग्दा पनि प्रशासनले आफ्नै निर्णय कार्यान्वयन गराउन सकेन ।

नयाँपत्रिका दैनिक बाट ।

समाचार वर्गहरू