काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई प्रधानमन्त्री वालेन्द्र शाहले सचेत गराएपछि स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति प्रकरणमा लहरो तान्दा पहरो नै आउने भएको छ ।
मन्त्री मेहता सालिन र सज्जन भए पनि स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका कारण विवादमा परेको खुलासा भएको छ । उनलाई समेत जानकारी नदिई सचिव देवकोटाले गरेको निर्णयका कारण उनको पद नै संकटमा परेको हो ।
वीमा बोर्डको सदस्य नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाकै निर्देशनमा भएको थियो । तर यसले मन्त्री मेहताकै पद रेडजोनमा परेपछि सचिव देवकोटा आफू पानीमाथिको ओभानो बन्न आदेशपालक कर्मचारीमाथि स्पष्टीकरणको डन्डा बर्षाउनतिर लागेका छन् ।
श्रम तथा रोजगार मन्त्री दीपककुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा सदस्य नियुक्ति गराउने, बैठकमा उपस्थिति गराउने सबै चाँजोपाँजो सचिव देवकोटाले नै गरेका थिए । दीपककुमार साह पब्लिक हेल्थ अध्ययन गरेका र विगतमा स्वास्थ्य मन्त्रालयमा बिभिन्न कामले आउने भएकाले सचिव देवकोटासँग उनको हिमचिम लामै समयदेखि थियो । तिनै साह श्रममन्त्री भएको र प्रधानमन्त्रीका निकट रहेकाले त्यसैको लाभ उठाउँदै उनकी श्रीमतीलाई स्वास्थ्य वीमा बोर्डमा नियुक्ति गर्ने प्रस्ताव उनैले राखेका थिए ।
सचिव देवकोटाले नै मन्त्री साहलाई श्रीमतीलाई बोर्डमा नियुक्ति गर्ने र बैठकमा हाजिर गराउने आग्रह गरेपछि उनले नाइनास्ती गरेनन् । २०८० मै नियुक्ति भएकाले विवाद नआउला भनेर साहले सचिवले राखेको प्रस्तावमा स्वीकृति दिए । तर मिडियामा मन्त्रीकी श्रीमती नियुक्ति गरेको समाचार छ्यापछ्याप्ती आएपछि नातागोता र आफन्त भर्ति नगर्ने बाचापत्रमा लेखेको रास्वपालाई नैतिक संकट आयो ।
प्रधानमन्त्री शाह हटाउने पक्षमा नभए पनि रास्वपा सभापति रवि लामिछानेले साहलाई श्रममन्त्रीबाट पदमुक्त गर्न र स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराउन बाध्य भए । सचिवले नै मन्त्री साहको चाकरी गरी मन्त्रालयमा टिकिरहनका लागि जुनु श्रेष्ठलाई नियुक्ति गरेका थिए । मन्त्री मेहतालाई यो बिषय मिडियामा नआएसम्म थाहा पनि नभएको स्वास्थ्य मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
मन्त्रीको चाकरी गर्नका लागि उनकी श्रीमती जुनुलाई नियुक्त गराउने सचिव देवकोटाले उनकै निर्देशन पालना गर्ने बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई तीन दिने स्पष्टीकरण सोधेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप छ ।
वीमा बोर्डमा जुनुको उपस्थितिपछि मिडियामा ब्यापक भयो । त्यसपछि सचिव देवकोटा नै जुनुको नाम र हस्ताक्षर भएको माइन्युट नै गायब पार्नेतिर लागेका थिए । दीपक साह र देवकोटा लागे पनि उनीहरुको प्रयास सफल हुन सकेन ।