काठमाडाैं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा जनताको घरदैलोमा पुग्न सङ्घीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
बुधबार पार्टीको संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा भएको बैठकमा अध्यक्ष ओलीले एमालेले पाँच दलीय गठबन्धनलाई एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जनताका बीचमा पुगेर मत माग्न आग्रह गरेका हुन् ।
सरकारले हठात् सङ्घीय संसद्को अधिवेशन अन्त्य गराएको र समसामयिक विषयमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिएको दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
सचेतक भट्टराईका अनुसार वडा, पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्नसहित साङ्गठनिक र वैचारिकरूपमा चुस्त हुँदै उम्मेदवार चयनका लागि मापदण्ड तय गरिसकेको अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले पूर्णरूपमा तम्तयार रहेको छ ।