प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री खड्का–जयशंकरबिच भेटवार्ता

9

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे छलफल भएको बताइएको छ ।

बिमस्टेकको पाँचौँ शिखर सम्मेलनका क्रममा श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री खड्का र जयशंकरबीच कोलम्बोमा मंगलबार भएको साइडलाइन वार्तामा कनेक्टिभिटी, ऊर्जा, मल, स्वास्थ्यलगायतमा सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ ।

‘बिमस्टेक मन्त्रीस्तरीय १८औँ बैठकमा सहभागी हुने क्रममा भएको साइडलाइन वार्तामा प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा जारी तयारीलगायत विषयमा छलफल भयो,’ परराष्ट्र मन्त्रालयले ट्विटरमार्फत सार्वजनिक गरेको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भेटमा दुई देशबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा केन्द्रित रहेर अघि बढ्ने सहमति भएको ट्विटरमा जनाएका छन् । उनले भनेका छन्, ‘कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत, रासायनिक मल, स्वास्थ्यलगायत क्षेत्रमा सहकार्यका विषयमा छलफल भयो ।’

समाचार वर्गहरू