ए डिभिजन लिग फुटबलमा कतार एयरवेज प्रयोजक

21
तस्बिर : एन्फा

(काठमाडौं) – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो पटक विदेशी कम्पनीले प्रायोजन गरेको छ । भोलि शनिबार सुरु हुने लिगमा कतार एयरवेजले प्रायोजन सम्झौता गरेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फासँग कतार एयरवेजले एक वर्षका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

सम्झौता पछि लिगमा सहभागी हरेक क्लबको जर्सीमा कतार एयरवेजको लोगो राखिने छ । यस्तै, एयरवेजको बोर्डहरु खेल मैदानमा राखिने छन् ।

सम्झौतापछि एन्फा अध्यक्ष कर्मा छिरिङले लिगमाथिको अन्योल टरेको बताउँदै कतार एयरवेजसँगको सम्झौतापछि नेपाली फुटबलले उचाई लिने विश्वास व्यक्त गरे ।

काठमाडौंको दशरथ रंगशालामा हुने लिगको उद्घाटन खेलमा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीच उद्घाटन खेल हुनेछ । विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो हुने क्लबले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

चौंथो हुने क्लबलाई १५, पाँचौ हुनेलाई ७ र छैटौं हुनेलाई ५ लाख रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । हरेक खेलका विजतालाई ५० हजार र बराबरी खेल्ने क्लबलाई १५–१५ हजार दिने घोषणा समेत एन्फाले गरेको छ ।

उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार पाउनेछन् । अध्यक्ष छिरिङले लिग तयारीका लागि हरेक क्लबलाई २० लाख रुपैयाँ दिएको बताए ।

समाचार वर्गहरू