काठमाडौं – नेपाल सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधीमन्त्री रेखा शर्माले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरिएको पनि जानकारी दिइन् ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त गरेको पनि शर्माले बताइन् ।
मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।