काठमाडौं – अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।
सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोहर्याएको भन्दै अर्थमन्त्रीले समय कम छ जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो।
समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्यूटावर भनेको कस्तो बेबकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा भन्दापनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए।
मन्त्री महतले आफूले यस्ता विषयहरु बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए। उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिए।
सांसद श्रेष्ठले लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन्? भन्ने प्रश्न गरे।
जवाफमा मन्त्री महतले आफूले यसबारेमा धेरै पटक सुनिसकेको र जिज्ञासा राख्न आग्रह गरे। यसको जवाफमा सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ भन्दै प्रश्न गरेका थिए।