पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

6

काठमाडौं – गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ।

फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल’ लाई लक्षित गरेर सिचुवानले बुधबार चार्टर्ड उडान गर्न लागेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए। उनका अनुसार बुधबार बिहान ९:३० बजे पोखरामा अवतरण हुने उक्त उडानमार्फत फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु अवतरण गर्दै छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

हाल यो विमानस्थलमा आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आएको छ। विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू