प्रधानमन्त्रीको प्रश्न, के देशमा साँच्चै केही नभएकै हो ? (सम्बोधनको पूर्णपाठ)

5
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अब शीर्ष दलको बैठक सत्ताको वितरण गर्न नबस्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीको कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै उनले परराष्ट्र नीतिमा एउटै धारणा बनाउन बैठक बसिने बताए।

‘दलहरू नागरिक समाज र सबै निकायलाई क्रम भंगताको अपिल गर्दछु। अब शीर्ष बैठक सत्ताको वितरण गर्न होइन विश्वविद्यालय सुधार्न, परराष्ट नीतिमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र राष्ट्रको छबि सुधार्न बस्नेछ,’ उनले भने।

उनले दीक्षान्त समारोहमा विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेको बताए। उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन्। उनले आर्थिक र कूटनीतिक नियोगलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनमा लाग्न आह्वान गरे।

दाहालले पूर्वाधारबिना विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमप्रति पनि आभारी जनाए। ‘सुविधासम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन। यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ। त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने।

उनले आफ्नो मूल्याङ्कनमा सरकार असफल नभए पनि आफ्नो हुटहुटीअनुसारको परिणाम आउन भने नसकेको बताएका हुन्। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार असफल त भएन तर मेरै हुटहुटीअनुसारको परिणाम आएन।’

उनले आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न खोजेको उनले बताए । यसका साथै आफ्नो कार्यकालमा राम्रा कामको सुरुवात भएको उल्लेख गर्दै तर, त्यो आफूलाई सन्तुष्टि दिन पर्याप्त नरहेको बताए। दाहालले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढेको पनि बताएका छन्। नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै उर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको बताए।

‘सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले प्रश्न गरे, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ । के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो?’ आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आज लगभग सिङ्गो देशमा विद्युत्‌को पहुँच पुगेको बताए।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/12/प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdf.pdf”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू