काठमाडौं – खानेपानी मन्त्री महेन्द्रराय यादवले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौंमा पुग्ने बताएका छन्।
शुक्रबार आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागि गएका मन्त्री यादवले माघको पहिलो साता नै पानी काठमाडौं पुग्ने दावी गरेका हुन्।
आयोजनाका स्थानीय भेण्डरहरु, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेको मन्त्री यादवको भनाइ थियो । ‘मैले पटक पटक मेलम्ची खानेपानी आयोजनाको अध्ययन र अनुगमन गरिरहेको छु’, मन्त्री यादवले भने, ‘पछिल्लो अवस्था हेर्दा काम द्रुत गतिमा भईरहेको देखिन्छ। हामीले माघको पहिलो साता नै काठमाडौंमा पानी लैजाने गरी काम गर्न चिनिया ठेकेदार कम्पनीलाई भनेका छौं।’
अवलोकनमा मन्त्री यादवसँगै प्रदेश सभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य विष्णुमणि आचार्य लगायतको समूह अम्बाथान पुगेको हो।
आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाए पनि पुस लाग्दासमेत वितरण गर्न नसकेपछि काठमाडौंबासीले विश्वास गर्ने आधार भने देखिँदैन।