काठमाडौं – प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेलाले श्रमजीवी पत्रकार ऐनअनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन मागसहित १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आइतबार जारी गरेको विज्ञप्तिमा अझै पनि अधिकांश सञ्चारमाध्यमले न्यूनतम तलब समेत उपलब्ध नगराएकोमा ध्यानाकर्षण जनाउँदै तत्काल वृद्धि भएको पारिश्रमिक दिन माग गरिएको छ ।
भेलाले राज्यका तीनै तहबाट सञ्चारसम्बन्धी कुनै पनि नीति, ऐन, कानून र नियमावली बनाउँदा र निर्देशिका जारी गर्दा सरोकारवाला निकायसँग पर्याप्त छलफल र सहमतिका आधारमा बनाउन र जारी गर्न माग गर्दैै त्यस्ता कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य र मान्यता एवं संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल हुने गरी ल्याउन आग्रह गरेको छ ।
राष्ट्रियसभामा छलफलका क्रममा रहेको प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै प्रकारको संकुचन नआउने गरी आवश्यक व्यवस्था गरेर तत्काल पारित गर्नुपर्ने लगायतका माग गरिएको छ ।
रासस