अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच द्विपक्षीय भेटवार्ता

17

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल बीच शिष्टचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए ।

दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान(प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको उनले बताएका छन् । अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराएका थिए ।

‘संघीय संसद अन्तर्गत ५९ सदस्य रहेको राष्ट्रिय सभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ,’ उनले भने, ’राष्ट्रिय सभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ ।’

सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुख मार्फत आग्रह समेत गरेका छन् । ‘तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करीब तीन हजार पर्यटक नेपाल आउने गरेका छन्, उनले भने, ‘अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु ।’

नेपाल हिमालदेखि तराईसम्म भौगोलिक विविधता र प्राकृतिक रुपमा सुन्दर भएकाले भ्रमण गर्न आग्रह गरे । आयरल्याण्ड युरोपियन युनियनको सदस्य राष्ट्र भएकाले नेपाली ध्वजावहाक जहाजलाई युरोपको आकासमा उडानका लागि खुल्ला गर्नका लागि पहल गर्न आग्रह गरे ।
त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको बताए ।

आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । सभामुख सेन नेतृत्वको टोलीमा सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नून लगायतको सहभागिता रहेको थियो ।

समाचार वर्गहरू