काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले कांग्रेसका महामन्त्री गगन थापाले गर्दा रास्वपालाई दुई सिट नाफा भएको बताएका छन्।
उनले समीक्षा प्रतिवेदनमा गगन थापाले आफूलाई जित्न सहज बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाएर प्रत्यक्षमा दुई सिट नाफा हुन पुगेको बताएका हुन्।
यस्तै उनले रास्वपाले थापालाई जित्न सहज बनाइदिएको पनि प्रतिवेदनमा खुलाएका छन्। उनले कुन क्षेत्र भन्ने भने खुलाएका छैनन्।
‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्याएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो।’
महामन्त्री ढकालले नतिजाले काठमाडौं ४ पनि रास्वपाले जित्ने देखाएकाले गगनसँगको रणनीतिक सहकार्य विफल भएको पनि उल्लेख गरेका छन्।