केन्द्र सँगै बागमती र लुम्बिनी प्रदेश सरकार पनि गुमाउँदै माओवादी

32
फाइल फोटो

काठमाडौं – केन्द्र सरकार गुमाएको माओवादी केन्द्रले डेढ सातापछी आइतबार (आज) दुईवटा प्रदेश सरकार पनि गुमाउने भएको छ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन्।

तत्कालीन सत्ता सहयात्री एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखराम महरा पनि आज विश्वासको मत लिँदैछन्। तर, दुबैले विश्वासको मत पाउने सम्भावना भने देखिँदैन।

यी दुबै प्रदेशमा कांग्रेस र एमालेको नयाँ गठबन्धनको सरकार बन्नेछ।बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन्।

माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद उनको पक्षमा भए पनि बहुमत पुग्दैन।  ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ।  कांग्रेस र एमालेसँग ६४ सांसद छन् ।

यसैगरी, लुम्बिनीका मुख्यमन्त्री महरा पनि आज विश्वासको मत गुमाउँदैछन्। कांग्रेस र एमालेले मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४४ मत चाहिन्छ। यहाँका एमालेका २९, कांग्रेसका २७ जना गरी ५६ जना सांसद संख्या छ।अल्पमतमा परेका मुख्यमन्त्री महरासँग अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा गरी १३ जना रहेको देखिन्छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू