काठमाडौं – लुम्बिनी प्रदेशमा मन्त्रालयको टुंगो नलाग्दा ८ जना मन्त्रीहरू कामविहीन भएका छन्। गत साउन ९ गते बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिएका नवनियुक्त आठ जना मन्त्रीहरु कामविहिन भएका हुन्।
साउन ७ गते नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित आठ जना न्त्रीहरूले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा गई प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ लिएकै दिन मुख्यमन्त्रीसहित आठै मन्त्रीहरू दाङस्थित राजधानीमा आई मुख्यमन्त्रीकै कार्यकक्षमा बैठक गरेका थिए। आचार्य मुख्यमन्त्री भइसकेपछिको पहिलो क्याबिनेट बैठक त्यही थियो। तर, हप्ता दिन बितिसक्दा पनि आठै जना मन्त्रीहरूको मन्त्रालयको टुंगो लागिसकेको छैन।
एक जना बिनाबिभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) ले मन्त्रालयको टुंगो नलाग्दा आफूहरू त्यस्तै बस्नु परेको बताए। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका न्यौपानेले जिम्मेवारी बाँडफाँट भई मन्त्रालयको टुंगो नलाग्दै कसरी प्रदेश कार्यालय जानु भन्ने प्रश्न गरे।