काभ्रेको बनेपामा पुजिए १० हजार कन्या

65

काठमाडौं – कृष्ण जन्माष्टमीको अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन्। बनेपामा मात्रै करिब सात हजार र बाँकी अन्यक्षेत्रका कन्या पुजिएका सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ।

बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या–पूजा’ लाई हरेक वर्ष यही दिन पुज्दै आइएको छ। आज मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै राखेर पुजा गरिन्छ ।

बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरू हुने गर्दछ । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट भक्तजन आउने गरेका छन्।

समितिका मूलकर्ता सुरकृष्ण बैद्यकानुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्ने गरिएको छ। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइ दिने प्रचलन रहँदै आएको छ।

पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको नाला, जनागाल, पाँचखाल, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको छ। बनेपाबाहेकका स्थानमा करिब तीन हजार कन्यालाई पुजिएको बताइएको छ।

किंवदन्तीअनुसार रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्यालगायत मानव–कन्या भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरिन्छ।

समाचार वर्गहरू