काठमाडौं – मध्य पहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी खण्ड सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण शनिबारबाट अवरुद्ध राजमार्ग बिहीबारबाट एकतर्फी सञ्चालनमा आएको हो।
वर्षा कम भएसँगै आइतबारबाट रामाजर्ग खुलाउन, नेपाल प्रहरी, सडक विभाग, गोलन्जोर र फिक्कल गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीय लागि परेका थिए।
सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्म बिहीबार दिउँसोदेखि एकतर्फी सडक सञ्चालनमा आएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए।
‘मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा मात्र करिब ५ सय मिटर सडकमा पहिरो खसेको थियो। यी पहिरोहरू जेसीभी, एक्स्काभेटर, डोजर प्रयोग गरेर पन्छाउने काम भइरहेको र अहिले एकतर्फी यातायातका साधनहरू सञ्चालनमा आएको हो,’ उापध्यक्ष न्यौपानेले भने।